Breaking News

विप्लव नेतृत्वको नेकपासँग तत्काल एकताकाे संभावना छैन: वैद्य

बुटवल, १८ मंसिर । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग तत्काल एकताकाे संभावना नरहेको बताएका छन् ।

बुटवलमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वैद्यले कम्युनिष्ट शक्त्तिबीच एकताका पक्षमा रहेपनि नेकपासँग भने एकीकरण नहुने बताए । उनले वर्तमान सरकारबाट शान्ति र स्थिरता नअाउने ठाेकुवा पनि गरे ।

१२ बुँदे विस्तृत शान्ति सम्झौता अनुसार काम नभएकाले शान्ति प्रक्रिया पूरा नभएको वैद्यकाे तर्क छ । जनआन्दोलनको जग र सहिदको रगतमा टेकेर सत्तामा गएकाहरूले सत्तामा पुगेपछि जनआन्दोलनको उद्देश्य नै बिर्सिएको जिकिर गरे ।

महासचिव वैद्यले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाको लागि नयाँ जनवादी क्रान्ति गर्ने पनि बताए । देशको साँचो अझैपनि सामन्ति, दलाल तथा पूंजीवादी नोकरशाहको हातमा रहेको उल्लेख गर्दै उनले नेपाली गरिब जनताको मुक्ति र राष्ट्रियता, जनजीविकाको रक्षाको लागि फेरि पनि क्रान्ति आवश्यक रहेको बताए ।

१० वर्षे जनयुद्ध यसखालको संघीयताको लागि नभएको भन्दै पहिचान र सामर्थ्यलाई नामेट पारिएर ल्याइएको संघीयताले तल्लो वर्गका गरिब निमुखाहरूको भावनालाई सम्बोधन गर्न नसक्ने महासचिव वैद्यले तर्क गरे ।

shares