Breaking News

कांग्रेस बैठक: पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव

ललितपुर, १८ मंसिर । कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । पार्टीभित्रको गुट, उपगुटलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने पनि सभापति सर्वसम्मत चयन हुनुपर्ने उनको तर्क छ ।

त्यसैगरी अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने किटानी व्यवस्था विधानमै गर्नुपर्ने आश्यकता औंल्याए । पार्टी विधिसम्मत ढंगले अघि नबढेका कारण कांग्रेस कमजोर हुन पुगेको उनको भनाइ थियो ।

बैठकमा केन्द्रीय सदस्य उमाकान्त चौधरीले विधानमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरे । केन्द्रीय सदस्य बढाउनुपर्ने प्रावधान विधान मस्यौदामा राखिएपनि पदाधिकारी संख्या भने बढाउने प्रस्ताव नगरेकोमा उनको असन्तुष्टि छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । पार्टीको आगामी मंसिर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको हो ।

shares