Breaking News

शहीद स्मारक ए डिभिजन लिग: अाजको खेलमा संकटा र एपीएफ विजयी

काठमाडौं, १८ मंसिर । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा संकटा क्लब र विभागीय टोली एपीएफ विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोस्रो खेलमा संकटाले नेपाल पुलिस क्लबलाई २-१ गोलले हराएको हो । यससँगै संकटा ६ मध्ये ५ जित र १ हारका साथ १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको शीर्षस्थानको मनाङको पनि समान १५ अंक भएपनि उसले १ खेल कम खेलेको छ ।

संकटाको जितमा सरोज दाहाल र दिपेश अालेमगरले गोल गरेका थिए भने पुलिसका लागि एक मात्र गोल रवी शंकर पासवानले गरेका थिए ।

त्यस्तै, आजै भएको पहिलो खेलमा एपीएफले न्युरोड टिम एनआरटीलाई २/१ गोलले हरायो । एपीएफको जितमा युवराज लामा र सुदिप शिखाकारले गोल गरे । खेलको तेस्रो मिनेटमै युवराजको गोलबाट एपीएफले अग्रता लिएको थियो । तर १५ औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए ।

पहिलो हाफ १/१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले थप एक गोल गर्‍याे । यो जितसँगै एपीएफ ६ खेलबाट २ जित, ३ हार र १ बराबरीसहित ७ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

shares