Breaking News

लटरम्म सुन्तला पाकेर पाँचथरको भिरालो बस्ती पहेंलपुर, रमाउँदैछन् किसान !

गिरिराज बाँस्कोटा/पाँचथर, १६ मंसिर । 

पाँचथरको दक्षिणी मिक्लाजुङ गाँउपालिका–५ को कुरुम्बामा सुन्तला बारीभरी पहेंलपुर भएर पोकेको छ । सुन्तला पाकेर पहाडको भिरालो बस्ती सुन्दर मात्र देखिएको छैन, किसानहरूले पनि यही सुन्तलाबाट आम्दानीको मिठो सपना देखेका छन् ।

साविकको कुरुम्बा गाविसका विभिन्न गाँउहरूमा व्यवसायिक रूपमा सुन्तला खेतीमा कृषिको आर्कषण मात्र छैन मेहनतका प्रेरणादायी कथा पनि छन् । परम्परागत रूपमा रहेको सुन्तोला खेतीलाई यहाँका किसानले व्यवसायीकरण गर्दै आधुनिक प्रविधि भित्र्याएका छन् । यतिबेला व्यापारीहरू बगानमै पुगेर सुन्तलाको दाम दिइरहेका छन् । पछिल्लो दशकमा यहाँ सुन्तला खेती फस्टाउँदै गएको हो ।

किसानले बगाननै बिक्री गर्छन् । गाउँमा खुद्रा सुन्तला बिक्री खासै हुँदैन । गाँउमै विरुवा उमारेर सुन्तोला लगाइएको छ । यो ठाँउलाई सुन्तलाको पकेट क्षेत्र पनि मानिन्छ । किसानहरू सुन्तला खेती जोगाउनका लागि मेहनत गरिरहेका भेटिन्छन् । धेरै खेती हुने किसानले हरेक वर्ष पाँचलाख भन्दा बढीको आम्दानी हासिल गर्छन् । यो ठाँउमा अन्य बालीभन्दा सुन्तला फस्टाएको देखिन्छ ।

यहाँको सुन्तला झापाको दमक लगायतका बजारमा पुग्छ । ठूलो तथा स्वादिष्ट फल्ने भएकाले पनि यहाँको सुन्तलाको माग छ । किसानहरूले बगान बिक्री गरिसकेका छन् । यतिबेला टिप्ने काम भइरहेको छ ।

वार्षिक रूपमा दुई करोडकको हारहारीमा यो गाँउबाट सुन्तला बिक्री हुने बताइन्छ । गाँउपालिकाले पनि यहाँको सुन्तला खेतीको विकासमा योगदान गरेको जानकारी दिएको छ । किसानहरूले सुन्तला खेती विस्तार गरेका छन् । विस्तार गरिएका बोटहरूबाट फल दिन थाल्ने हो भने गाँउमा आम्दानी दोब्बर हुने बताइएको छ ।

विगतमा सुन्तला भएको ठाँउमा भन्दा माथिमाथि सर्दै गएको किसानको भनाइ छ । विगतमा सुन्तला हुने ठाँउमा नभई लेकतिर राम्रो फल हासिल हुन थालेको उनीहरू बताउँछन् ।

भिडियो हेरौं-

shares