Breaking News

नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं, १७ मंसिर । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बसिरहेको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण पुस १७ मा अनिवार्य अवकाश पाउँदै छन् । त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद् बैठक बोलाइएको हो ।

न्याय परिषद्ले एक साताअघि नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्लाई बुझाएको छ ।

प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । जोशी र राणाबाहेक अरू न्यायाधीशको योग्यता पुगेको छैन ।

परिषद्ले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो । संविधानको धारा २८४ को उपधारा ३ मा पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने उल्लेख छ ।

परिषद्मा नाम बुझाइएका दुई वरिष्ठतम न्यायाधीशमध्ये जोशी यसअघि संसदको सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेका छन् ।

shares