Breaking News

मंगोलियन हर्टले आफ्नो रजत महोत्सवको कार्यक्रम युएईमा मनाउँदै

काठमाडौं, १७ मंसिर ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय एवम् स्थापित नेपालका चर्चित सांगीतिक समूह ‘मंगोलियन हर्ट’ले स्थापनाको २५ वर्ष पूरा भएको रजत महोत्सव (सिल्बर जुब्ली)को अवसरमा संयुक्त अरब इमिरेट्समा पनि दुईवटा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

यही मंसिर २० र २१ अर्थात डिसेम्बर ६ र ७ मा युएईका दुई सहर अबुधाबी र बर दुबईमा हुने मंगोलियन हर्टको भब्य सांगीतिक कार्यक्रमको आयोजना दुबई नेपाली रक्सले गरेको हो । अबुधाबीमा डिसेम्बर ६ तारिखमा ली मेरिडियन होटेल र डिसेम्बर ७ तारिखमा बर दुबईको अस्टोरिया होटेलस्थित क्लब एभरेस्टमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाली रक्सका यमन गुरुङले जानकारी दिए ।

मंगोलियन हर्टका म्यानेजर एवम् गिटारिस्ट बबी लामाका अनुसार ब्याण्डको सांगीतिक यात्रा २५ वर्ष पुगेकोमा २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने लक्ष्य अनुरुप अहिलेसम्म ८ वटा ठाउँमा गरिसकेको युएईको २ वटा कार्यक्रमपछि बाँकी १५ ठाउँको गर्ने तयारी लगभग सकिन लागेको छ ।

म्यानेजर लामाका अनुसार ब्याण्डले गर्नुपर्ने तयारी पूरा गरिसकेको र युएईमा पहिलोपल्ट हुन लागेको हुनाले पनि ज्यादै उत्साहित भएको साथै नयाँ र पुरानो गीतले दर्शकलाई मज्जाले नचाउने पनि जानकारी दिए । यसै कार्यक्रमका लागि गायक राजु लामा अमेरिकाबाट आइसकेका छन् ।

नेपाली सांगीतिक समूहहरू लामो समयसम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले भब्य कार्यक्रमहरू गर्दै ‘सिल्भर जुब्ली’का कार्यक्रमहरू गर्दै आइरहेको छ ।

७ वटा एल्बमका ५ दर्जन गीतहरू बजारमा आइसकेका नेपाली मेलोडी पप र सेलो गीतहरू गाउन सिपालु मंगोलियन हर्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’, ‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन् ।

shares