Breaking News

फ्रान्स सरकार संकटकाल घोषणाको तयारीमा

काठमाडौं, १७ मंसिर । फ्रान्समा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुँदै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा लागेकाे छ ।

राष्ट्रपति इम्यानुअल म्याक्रोनले आकस्मिक सुरक्षा बैठक आह्वान गर्नुलाई संकटकालकाे तयारीकाे रूपमा हेरिएकाे छ । सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले शान्ति व्यवस्था कायम राख्न संकटकाल एक विकल्प भएकाे बताए ।

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन उत्रिएकाहरूले प्रहरीमाथि नै आक्रमण गर्नुका साथै सवारी साधन, भौतिक संरचनामा क्षति पुर्‍याएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले पनि बल प्रयोग गर्दै आएका छन् ।

शनिबारको प्रदर्शनमा एक सयभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरूमा २३ जना सुरक्षाकर्मीसमेत रहेको बीबीसीले जनाएको छ । चार सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

सबै प्रदर्शनकारीहरू पहेंलो रंगको कपडा लगाएर सडकमा उत्रिएका छन् । उनीहरू डिजेलमा अत्यधिक कर वृद्धिप्रति निकै आक्रोशित देखिन्छन् ।

फ्रान्स सरकारले भने वातावरणमा प्रदुषणको मात्रा रोक्न डिजलको खपत कम गर्नुपर्ने भएकाले कर वृद्धि गरिएको बताउँदै आएको छ ।

shares