Breaking News

भारतको गणतन्त्र दिवसमा रामाफोसा प्रमुख अतिथि बन्ने निश्चित्

काठमाडौं, १६ मंसिर । भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्ने पक्का भएको छ ।

आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि रामाफोसा हुने प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत् जानकारी दिएका हुन् ।

मोदीले रामाफोसालाई औद्योगिक राष्ट्रहरूको समूह जी–२० शिखर सम्मेलनका क्रममा भेटेर प्रमुख अतिथिका रूपमा उपस्थित भइदिन अनुरोध गरेका थिए ।

दक्षिण अफ्रिकासँग महात्मा गान्धीको विशेष र नजिकको सम्बन्ध भएकाले त्यही देशका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन लागेको मोदीले बताएका छन् । भारतमा राष्ट्रपिताका रूपमा सम्मानित गान्धीले सन् १८९३ देखि १९१४ सम्म दक्षिण अफ्रिकामा अधिवक्ताको रूपमा काम गरेका थिए ।

यसअघि भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका लागि आमन्त्रण गरेपनि समय अभाव जनाउँदै उनले उक्त समारोहमा उपस्थित हुन नसक्ने बताएका थिए ।

shares