Breaking News

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु सुखद्: कांग्रेस

काठमाण्डौ, १६ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु सुखद् भएको टिप्पणी गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम सुखद र सकारात्मक रहेको जनाएको हो । तर यसको प्रचार शैली भने अनावश्यक र भड्किलो भएको भन्दै कांग्रेसको आपत्ति छ ।

सामाजिक सुरक्षा कार्यक्रम आउनु सुखद भएको पार्टीको निष्कर्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले प्रचार शैली भने व्यवहारिक नभएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीको आलोचना गरिएको पनि स्पष्ट पारे । कांग्रेसले सो सामाजिक सुरक्षा योजना सफल कार्यान्वयनका लागि पनि सरकारलाई शुभकामना दिएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमका लागि आवश्यक ऐन आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको कांग्रेसको दाबी छ । त्यसैगरी कांग्रेस बैठकले ‘एसिया प्यासिफिक समिट’ मा सरकार आफैं सहभागी हुनु दुःखद भएको पनि जनाएको छ ।

धर्म निरपेक्ष राष्ट्रको सरकारले कुनै धर्म विशेषको कार्यक्रममा सहभागी भएर संविधानको मर्म विपरीत काम गरेको कांग्रेसको आरोप छ । प्रवक्ता शर्माले सो कार्यक्रममा सरकारको प्रत्यक्ष सहभागिताप्रति पार्टीको आपत्ति रहेको बताए ।

नेपाली कांग्रेसले खास धार्मिक आस्थामा आधारित संस्थाको कार्यक्रममा सरकारले राज्यको स्रोत तथा साधनको समेत दुरुपयोग गरेको गम्भीर आरोप छ ।

shares