Breaking News

बैठकमा मन्त्री उपस्थित नभएपछि वरिष्ठ नेता खनालद्वारा असन्तुष्टि व्यक्त

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री विना मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

विकास तथा प्रविधि समितिको सदस्य समेत रहेका वरिष्ठ नेता खनालले समितिको आइतबारको बैठकमा मन्त्री मगर उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले समितिको बैठकमा बोल्दै संसद र संसदीय समितिलाई हल्का रूपमा नलिन पनि मन्त्री मगरलाई सचेत गराए ।

मेलम्ची खानेपानी लगायतका सरकारका योजनाबारे जानकारी लिन विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री मगरलाई बोलाइएको थियो । तर उनको उपस्थिति नभएपछि समितिका सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

कार्यपालिका र व्यवस्थापिकाको सम्बन्धलाई सुमधुर बनाउन पनि संसदीय समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित हुन उपयुक्त हुने वरिष्ठ नेता खनालको तर्क छ । वरिष्ठ नेता खनालले सरकारले खानेपानी व्यवस्थापनका लागि आवश्यक भिजन ल्याउन नसकेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले पनि बैठकमा खानेपानी मन्त्री मगर उपस्थित नभएकोमा आपत्ति जनाए । उनले मन्त्री उपस्थित नभए यस्ता बैठकहरू स्थगित गर्न पनि सभापति कल्याणी खड्काको गम्भीर ध्यानाकर्षण गराए । मन्त्री मगरले दशैं अघि नै मेलम्चीको पानी काठमाडौंमा आउँछ भनेर झुटा आश्वासन दिएकोमा कांग्रेस सांसद बिष्टको आपत्ति छ ।

सांसदहरूले मेलम्चीको पानी कहिले आउँछ ? मिति किटान गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

shares