Breaking News

शीर्ष स्थानको म्यान्चेस्टर सिटीले बर्नमथलाई हराउँदै लिभरपुलसँग अंक दुरी बढायो

काठमाण्डौ, १६ मंसिर । इंग्लिस प्रिमियरमा बर्नमथलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसंग अंक दुरी बढाएको छ ।

लिगअन्तर्गत गएराति भएको खेलबाट सिटीले बर्नमथलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । खेलको १६औं मिनेटमा नै र्बनान्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा विल्सनको गोलमार्फत बर्नमथले बराबरी गरेको थियो । दोस्रो हाफमा रहिम स्टर्रलिङ र इल्काई गुन्डाउले गोल गरेपछि खेल सिटीले ३-१ ले जितेको थियो ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत नै गएराति भएको खेलबाट म्यान्चेस्टर युनाईटेड भने साउथह्याम्प्टन संग २-२ गोलको बराबरीमा रोकिएको छ । खेलको २० मिनेट भित्रै २-० ले पछाडि परेको म्यान्चेस्टर युनाइटेडको लागी रुमेलु लुकाकु र एन्ड्रे हरेराले बराबरी गोल फर्काएका थिए ।

अर्को खेलबाट लेइस्टर सिटिले वार्टफोर्डलाई २-० ले पराजित गरेको छ भने वेस्ट हामले न्युक्यासल युनाईटेडलाई ३-० ले र क्रिस्टल प्यालेसले बर्नलीलाई २-० ले पराजित गरेको छ ।

shares