Breaking News

निर्मलाको बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्था झन बिग्रंदै

काठमाण्डौ, १३ मंसिर । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कञ्चनपुरबाट काठमाडौ‌ं ल्याइएका निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्यमा खासै सुधार आएको छैन ।

शिक्षण अस्पतालमा उपचाररत पन्तको स्वास्थ्य अवस्था झनै बिग्रंदै गएको बिरामी कुरिरहेकी प्रेमवति राणाले जानकारी दिइन् । पन्तलाई के भएको हो भन्नेबारेमा पनि डाक्टरहरूले राम्रोसँग नबताएको उनको गुनासो छ ।

त्रिवि शिक्षण अस्पतालको मानसिक रोग विभागका डा. सरोज ओझाले भने पन्तलाई बाहिर आए जस्तो मानसिक समस्या नरहेको तर तनावका कारण केही असर देखिएको बताए ।

१३ वर्षे छोरी निर्मला पन्तलाई गत साउन १० गते बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै कञ्चनपुरमा नै अनशनमा बसेका यज्ञराजले केही असामान्य व्यवहार देखाएपछि गत आइतबार उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो ।

shares