Breaking News

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी

ललितपुर, १३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । केन्द्रीय कार्यालय सानेपामा चलिरहेकाे बैठकमा पार्टीको विधान मस्यौदालाई अन्तिम रूप दिने विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् ।

प्रस्तावित विधानका केही बुँदामा केन्द्रीय सदस्यले फरक मत राखेपछि उत्पन्न समस्या समाधान गर्न कार्यसमितिमा छलफल भैरहेको सह महामन्त्री प्रकाशशरण महतले जानकारी दिए । अघिल्लो बैठकमा सहमति हुन नसकेपछि विधान मस्यौदा समितिले फरक मतसहित केन्द्रीय समिति बैठकमा मस्याैदा पेश गरेको थियो ।

सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच हिजो भएको छलफलमा मस्यौदा समितिमा सहमति हुन नसकेका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा सहमति खोज्न प्रयास गर्ने र सहमति भएका बुँदा मात्रै महासमिति बैठकमा पेस गर्ने सहमति भएकाे थियो ।

क्रियाशील र साधारण नबनाई एकै किसिमको मात्रै सदस्यता राख्ने, मुलुकको जनसंख्याको प्रतिनिधित्वका आधारमा नभई पार्टी सदस्यताका आधारमा पार्टीमा आरक्षण दिने प्रस्ताव गर्ने संस्थापनको तयारी छ ।

पौडेल पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढाउन सिफारिस भएकै सिद्धान्तअनुसार पदाधिकारी संख्या बढाउनुपर्ने पक्षमा छ । मस्यौदामा फरक मत राखेका सदस्यलाई फरक मत राख्नुको कारणबारे बोल्न दिन आग्रह गर्ने र पदाधिकारी थप्नुपर्ने विषय सबैले जोडदार उठाउने पौडेल पक्षको तयारी छ ।

shares