Breaking News

एसिया प्यासेफिक समिटको विरोधमा प्रदर्शन

काठमाण्डौ, १३ मंसिर । शुक्रबारदेखि काठमाण्डौमा हुन गइरहेको एसिया प्यासेफिक समिटको विरोधमा प्रदर्शन भएको छ ।

काठमाडौँको माइतीघरमा भेला भएका स्वतन्त्र युवाहरूको एक समूहले एसिया प्यासेफिक समिटको विरोध गरेका हुन् । युवाहरूले विश्वभरि धर्म परिवर्तन गराउने संस्थाको रूपमा बदनाम भएको गैर सरकारी संस्थाको कार्यक्रमलाई सहयोग गरेको भन्दै सरकारको कामको विरोध पनि गरे ।

माइतीघरको प्रदर्शनमा युवाहरूले सवारी संचालनमा जोर बिजोर प्रणाली लागू गरेर जनतालाई दुख दिएको भन्दै नाराबाजी गरेका छन् । माइतीघरको प्रदर्शनमा उत्रेका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

यता नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकामा बिहीबारबाट सवारी साधनमा लागू भएको जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा युथ कांग्रेस नेपाल नामक एक संस्थाले पोष्ट गरेको विज्ञप्ति रिट्वीट गर्दै सांसद थापाले धर्मान्तरणको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक भन्दै सरकारको गलत कामको अवज्ञा गर्न आह्वान गरेका हुन् ।

shares