Breaking News

भूमिहिन नागरिकले पनि अब आवास पाउने

काठमाण्डौ, १३ मंसिर । भूमिहिन नागरिकले पनि अब आवास पाउने भएका छन् ।

सहरी विकास मन्त्रालयले भूमिहिन नागरिकलाई पनि आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहिनहरूले पनि जग्गा र आवास दुवै पाउने भएका हुन् । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहिन नागरिकलाई आवास बनाउन जग्गासमेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिएका हुन् ।

कार्यविधि बनेसँगै भूमिहिनहरूले आवास नपाउने अवस्था अब नरहेको मन्त्री राईको दाबी छ । बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले जनता आवास कार्यक्रमले अब गति लिने पनि बताए । मन्त्री राईले जनता आवास कार्यक्रममा अनियमितता गरेको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

बैठकमा समितिका सदस्यहरूले जनता आवास कार्यक्रममा भ्रष्टाचार हुने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । मन्त्री राईले त्यसको जवाफ दिँदै भ्रष्टाचार गरेको पाइए दोषीमाथि कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

बैठकमा समितिका सदस्यहरूले भूमिहिन नागरिकहरूलाई उच्च प्राथमिकता दिएर जनता आवास काईक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले भूमिहिनलाई उच्च प्राथमिकता दिएर जनता आवास कार्यक्रमलाई अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले तराईमा दलित जातिहरू जमिनको अभावमा जनता आवास कार्यक्रमबाट बञ्चित हुनुपरेको भन्दै सरकारलाई सचेत गराए ।

समितिका अर्का सदस्य एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत बस्ती विकास कार्यक्रमलाई व्यापक छलफल गरेर अघि बढाउन सरकारसँग आग्रह गरे । उनले सहरी बस्ती विकास कार्यक्रमलाई अघि बढाउन ढिलाइ नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्यहरूले सहरी विकास योजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

shares