Breaking News

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाण्डौ, १३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजे बस्ने बैठकमा पार्टीको विधान मस्यौदालाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ । कतिपय बिषयमा सहमति हुन नसकेपछि बिधान मस्याैदा समितिले फरक मतसहित मंसीर ९ गते बसेकाे केन्द्रीय समिति बैठकमा पेश गरेकाे थियाे ।

सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षबीच हिजाे भएकाे छलफलमा मस्यौदा समितिमा सहमति हुन नसकेका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा सहमति खोज्न प्रयास गर्ने र सहमति भएका बुँदा मात्रै महासमिति बैठकमा पेस गर्ने निष्कर्ष निकालेकाे थियाे ।

क्रियाशील र साधारण नबनाई एकै किसिमको मात्रै सदस्यता राख्ने, मुलुकको जनसंख्याको प्रतिनिधित्वका आधारमा नभई पार्टी सदस्यताका आधारमा पार्टीमा आरक्षण दिने प्रस्ताव गर्ने संस्थापनकाे तयारी छ । मस्यौदामा पार्टीको केन्द्र र प्रदेश समितिबीच समन्वयनको दह्रो परिकल्पना नगरिएको निष्कर्ष पनि निकालेको छ ।

पौडेल पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढाउन सिफारिस भएकै सिद्धान्तअनुसार पदाधिकारी संख्या बढाउनुपर्ने अवाज उठाउने निष्कर्षमा पुगेको छ । मस्यौदामा फरक मत राखेका सदस्यलाई फरक मत राख्नुको कारणबारे बोल्न दिन आग्रह गर्ने र पदाधिकारी थप्नुपर्ने विषय सबैले जोडदार उठाउने पाैडेल पक्षकाे तयारी छ ।

shares