Breaking News

म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाण्डौमा

काठमाण्डौ, १३ मंसिर । एसिया प्रशान्त सम्मेलनमा सहभागी हुन विदेशी म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आएका छन् ।

दुवैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरे । नेपाल बसाईका क्रममा नेतृ सुकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् ।

पछिल्लो समय म्यानमारमा रोहिंग्या समूदायमाथि भएको हिंसालाई लिएर उनको आलोचना भइरहेको छ । सोही विषयलाई समेत ध्यानमा राखेर सरकारले सुरक्षा अवस्था कडा पारेको हो ।

म्यानमारमा भएको पछिल्लो निर्वाचनमा सुकी नेतृत्वको नेशनल लिग फर डेमोक्रेसीले बहुमत प्राप्त गर्दै विजयी भएसँगै त्यहाँ सैनिक शासनको अन्त्य भएको थियो । सुकी श्रीमान विदेशी नागरिक भएका कारण राष्ट्रपति बन्न नमिल्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सल्लाहकारको भूमिकामा रहेका छन् ।

विदेशी पाहुनाको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा अवस्था सुदृढ पारिएको छ । सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने बताइएको छ । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ ।

दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिकाबारे छलफल हुनेछ ।

shares