Breaking News

नेपालको सुन्दरता हेर्न १४ हजार किलोमिटर साइकल यात्रा गरेर स्विस जोडी नेपालमा

काठमाण्डौ, १२ मंसिर । एक स्विस जोडी साइकलमा चौध हजार किलोमिटर दुरी पार गरी नेपाल अाइपुगेका छन् ।

सन् २०१७ को जुलाईमा स्विट्जरल्याण्डबाट यात्रा सुरु गरेका प्रकृतिप्रेमी स्विस जोडी पर्सी जोन र सिसिल विभिन्न १७ देशहरू पार गर्दै १६ महिनाको अवधिमा नेपाल अाइपुगेका हुन् ।

साइकल यात्रा यो लामो दुरी पार गर्न त्यति सहज भने नभएको यो जोडीले सुनाए । पाँच दिनका लागि मात्र ट्रान्जिट भिसा भएको कारण उनीहरूलाई तुर्कमेनिस्तान साइकलमा पार गर्न सम्भव थिएन, त्यसैले रेलमा यात्रा गर्नु परेको उनीहरूले बताए ।

त्यस्तै चीन र पाकिस्तानको लागि भिसा प्राप्त गर्न नसकेपछि जोन र सिसिल काजकस्तानबाट नयाँ दिल्ली विमानमा अाए । यात्राको समय धेरैजसो टेन्टमा बसेको र अाफैंले स्टोभमा पकाएर खाएको उनीहरूले बताए । तर कुनै ठाउँमा होटेलमा बसेको र कतिपय ठाउँमा स्थानीयहरूले नै स्वागत गरेर घरमै लगेर राखेको मिठो अनुभव उनीहरूको छ ।

टर्की, अजरबैजान, इरान र नेपालका मानिसहरू निकै राम्रा र सहृदयी पाएको उनीहरूले बताए । महेन्द्रनगर नाकाबाट नेपाल प्रवेश गरेका उनीहरू भीमदत्त हुँदै साइकलमा छिन्चुसम्म पुुगे । त्यहाँबाट बसमा जुम्ला पुगेका यो जोडी नेपालकै ठूलो ताल रारा नपुगी थामिएनन् । पोखराबाट साइकलमा जोमसोम पुगेका उनीहरू जोमसोमबाट हिंडेर विश्वकै सबैभन्दा उच्च स्थानमा अवस्थित तिलिचो तालसम्म पुगे ।

सुन्दर पृथ्वीमा सफा हृदय भएका मानिसहरूका बीच अझै मानिसले सफा गर्नु पर्ने चिज धेरै रहेको बताउँदै प्लाष्टिकले स्वर्गीय सुन्दरतालाई सखाप पारिरहेकोले यसप्रति सचेत भई समयमै परिवर्तन ल्याउन सकिने उनीहरूको धारणा छ । नेपालको अनुपम प्राकृतिक सुन्दरता र यहाँका संस्कृतिले अाफूहरूलाई प्रभावित पारेको उनीहरूको अनुभव छ । नेपाल बसाइका क्रममा उनीहरूसँग अनुभव साँटासाँट गर्ने क्रममा जोनले भने, “नेपाल र विशाल हिमालय हेर्ने हाम्रो सपना थियो । साइकलमा यहाँसम्मको यात्रा तय गर्न हामीले १० वर्षसम्म पैसा जम्मा गरेर राख्यौं ।”

हाल नेपालमा रहेका जोन र सिसिलको जोडीले अाफ्नो साइकल भने स्विट्जरल्याण्ड पठाइसकेका छन् । उनीहरू अब पैदल यात्रा गर्न चाहन्छन् । दक्षिण भारतसम्म उनीहरू रेलमा जाने सोचमा छन् भने त्यहाँबाट जहाजमा युरोपसम्मको यात्रा तय गर्दै घर फर्किने योजना बुन्दै छन् ।

shares