Breaking News

”प्रेमको भिखारी”मार्फत् एक दशकपछि गगन सरगमको पुनरागमन

काठमाण्डौ, ११ मंसिर । एक दशकअघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा’ ल्याएर नेपाली सांगीतिक आकाशमा छाएका गायक गगन सरगमको एक दशक लामो समयको अन्तरालपछि नेपाली आधुनिक गायनमा पुनरागमन भएको छ ।

दोश्रो सोलो गीति एल्बम ”प्रेमको भिखारी” मार्फत् श्रोतामाझ आएका गगनको एल्बममा निम संगीतको एकल संगीत र एरेन्जमेन्ट रहेको छ । सोमबार एउटा म्युजिक भिडियोसहित सार्वजनिक भएको ”प्रेमको भिखारी” एल्बममा विविध प्रकारका ५ वटा आधुनिक गीतहरू समावेश गरिएका छन् ।

एल्बममा निम संगीतको अलवा नवराज घिमिरे, लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द रहेको छ भने एल्बममा समावेश शीर्षगीत ”प्रेमको भिखारी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा गगन आफैंले अभिनय गरेका छन् भने उनलाई जुना सुन्दासले साथ दिएकी छिन् ।

निशान घिमिरेको सम्पादन, उत्सव दाहालको छांयाकन रहेको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोलाई गीतको भावना अनुरुप घायलप्रेमीप्रति समर्पित गरिएको छ । भिडियोमा आत्मा हत्या गर्नै लाग्दा प्रेमीलाई प्रेमिकाले बचाएको कथालाई देखाउन खोजिएको छ ।

प्रेम र पीडाको अनुभूतिमा कोरिएका गीतहरू समावेश ”प्रेमको भिखारी” मा अत्यन्त मार्मिक अनुभूतिका साथ गायन गरिएको छ । पीडा नै पीडा त्यो पनि प्रेमपीडाको सशक्त गीतहरू यो एल्बममा समेटिएका छन् । यसअघि २०६५ मा आएको गायक सरगमको ‘तिम्रो मन’ एल्बमको ‘तिम्रो मनमा फुल्न मन लाग्छ’ गीत अत्यधिक मन पराइएको थियो ।

shares