Breaking News

आगलागी हुँदा रु १ करोड ११ लाख बराबर क्षति

मोरङ, ४ मंसिर । मोरङको उर्लाबारी नगरपालिका-७  स्थित भक्तिराम अधिकारीको घरमा अाज दिउँसो आगलागी हुँदा रु एक करोड ११ लाख क्षति भएको छ ।

दिउँसो १:३० बजेतिर आगलागी हुँदा अधिकारीको काठले बनेको दुई तले घर र किराना पसल पूर्णरूपमा जलेर नष्ट भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक प्रकास पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन ।

किराना पसलमा रु ७० लाख बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा एक करोड ११ लाख रुपैयाँ बराबरको क्षति भएको पीडित अधिकारीले बताए ।

आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उनको रु १ लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरूपमा जलेर नष्ट भएको हो ।

आगो दमक, बिर्तामोड, गौरादह, सुन्दरहरै“चा र इटहरीबाट आएका दमकल र स्थानीयबासीको प्रयासमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । उर्लाबारी नगरपालिकामा दमकल नहुँदा आगोलाई समयमै नियन्त्रणमा लिन समस्या परेको थियो ।

shares