Breaking News

बालबालिकाको विकासका लागि तीनै तहको सरकारको समन्वय अावश्यक: मन्त्री थापा

काठमाण्डौ, ४ मंसिर ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थमममाया थापाले राजनैतिक आन्दोलन र राजनैतिक संक्रमणले बालबालिकाको क्षेत्रमा विशेष ध्यान नगएकाे बताएकी छिन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं केन्द्रीय बालकल्याण समितिद्वारा आज आयोजित ‘अन्तराष्ट्रिय बालअधिकार दिवस र नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन सार्वजनिकीकरण’ कार्यक्रममा मन्त्री थापाले देश संघीय संरचनामा गइसकेकाले अब भने बालबालिकाको वृत्ति विकासमा तीनै तहका सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताइन् । साथै उनले विभिन्न प्रकारका हिंसा, बालबालिकाको विषयलाई प्रभावकारी रुपमा सम्बोधन गर्न विद्यालय शिक्षामा सुधार ल्याउनुपर्ने अावश्यकता अाैंल्याइन् ।

कार्यक्रममा बोल्दै अन्य सरोकारवालाहरूले बालबालिकाको विकासमा विद्यालय शिक्षामा उनीहरूको उपस्थिति र परिवारको अवस्था विश्लेषण शिक्षण पद्दतिमा सुधार ल्याउनुपर्ने बताएका थिए । गत असार मसान्तसम्मको तथ्याङ्कमा ७८३ बालक र ९० बालिकाको उद्धार तथा व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बालबालिका खोजतलास समन्वय केन्द्र १०४ को तथ्याङ्कानुसार आव २०७४/७५ मा दुई हजार ३३० बालबालिका हराएकामा एक हजार १७ फेला परेका छन् भने बाँकीको खोजतलास जारी छ ।

गत वैशाख पहिलो हप्तादेखि असारसम्म काठमाडौँ उपत्यकाबाट एक हजार ७३ सार्वजनिक यातायातका साधनबाट ५९ बालश्रमिक उद्धार गरी पुनःस्थापना एवं पारिवारिक पुनर्मिलनसमेत गराइएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

shares