Breaking News

एडीबीको करिब ३९ अर्ब ३२ करोडको आर्थिक सहायतासम्बन्धी समझदारी

काठमाण्डौ, ४ मंसिर ।

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब ३९ अर्ब ३२ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडीबीले सो आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव डा. राजन खनाल र एडीबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एडीबीको सहयोगमध्ये १८ करोड डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक समन्वय कार्यक्रममा खर्च हुनेछ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि १६ करोड ३९ लाख डलर खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए ।

एडीबीको सो आर्थिक सहायताबाट नेपालको सडक संजालमा उल्लेख्य सुधार हुने नेपाल सरकारले विश्वास लिएको छ ।एडीबीले नेपालको पूर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

अर्थ सचिव खनालले नेपाल सरकारलाई एडीबीले गरेको पछिल्लो आर्थिक सहायताप्रति पनि आभार व्यक्त गरे ।

shares