Breaking News

अाईएमई नेपाल लिटरेचर फेस्टिभल-२०१८ पुस ७ देखि पोखरामा हुने

काठमाण्डौ, ३ मंसिर । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मन्त्रसहित सन् २०११ मा ललितपुरको झम्सिखेलबाट सुरु भएको मुलुककै पहिलो साहित्य महोत्सव अाईएमई नेपाल लिटरेचर फेस्टिभलको सातौं संस्करण यो वर्ष पुस ७ देखि १० सम्म पोखरामा हुने भएको छ ।

सुरुवातका चार संस्करण काठमाण्डौ उपत्यकामा अायोजित फेस्टिभल भूकम्प र नाकाबन्दीले एकमाथि अर्को प्रहारपछि पोखरा पुगेको सो कार्यक्रम पोखरेलीको अात्मीय अातिथ्य, सहृदयी भाव र स्थानीय अायोजक र्‍यान्डम रिडर्स सोसाइटीको साथसहयोगले फेस्टिभललाई पोखरामै गरिराख्न प्रेरित गरेको अायोजकले बताएको छ । यस वर्ष महोत्सव पोखराको फेवाताल किनारमा अवस्थित रत्न मन्दिरअगाडिको चौरमा हुने पनि अायोजकले जनाएको छ ।

नेपाली भाषाका प्रखर साहित्यकार र चिन्तक इन्द्रबहादुर राईको खँदिलो विद्वत प्रवचन र दक्षिण एसियाली पत्रकारिताका जीवित इतिहास सर मार्क टलीको उपस्थितिले शोभा बढाएको फेस्टिभलको पहिलो संस्करणदेखि हालसम्म अाइपुग्दा थुप्रै देशीविदेशी साहित्यकार, लेखक र चिन्तकको वैचारिक बहस गर्ने प्रिय थलो बनिसकेको छ ।

देशभित्रका वरिष्ठ र ऊर्जावान् नयाँ प्रतिभा सायदै छुटेका छन् भने अन्तर्राष्ट्रिय साहित्यकारमाझ पनि पुग्नुपर्ने एउटा साहित्य महोत्सवका रूपमा फेस्टिभलले स्थान बनाउन सफल भएको छ । समयक्रममा फेस्टिभलले भारतका कहिलिएका सम्पादक विनोद मेहता, शोभा डे, लेखक एवम् राजनीतिज्ञ शशि थरूर, पत्रकार बर्खा दत्त,  अाख्यानकार उदयप्रकाशलगायत थुप्रैलाई स्वागत गरिसकेको छ । यता नेपालबाट नयाँ पुस्ताका बुद्धिसागरदेखि शताब्दी छोइसकेका माधवप्रसाद घिमिरेसम्मले फेस्टिभलमा सक्रिय सहभागिता जनाइसकेका छन् ।

बुकवर्म फाउन्डेसन अायोजक रहेको महोत्सवको मुख्य प्रायोजकको रूपमा सन् २००१ मा स्थापित अाईएमई ग्रुपले योगदान पुर्‍याउँदै अाइरहेको छ । रेमिट्यान्स, बैंक तथा वित्तीय सेवा, ऊर्जा उद्योग, सूचना प्रविधि, पर्यटनलगायत विभिन्न उद्यममा नाम कमाएको यो समूहले अाफ्नो सामाजिक दायित्वअन्तर्गत गैरनाफामूलक क्षेत्रमा पनि योगदान गर्दै अाएको छ ।

shares