Breaking News

एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा गोलको वर्षा

काठमाण्डौ, १७ जेठ । एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पा र स्याङ्गजामा आज भएको छुट्टाछुट्टै खेलमा गोलको वर्षा भएको छ ।

पाल्पामा भएकाे पहिलो खेलमा कैलाली महिला फुटबल टिमले उदयपुर महिला फुटबल टिमलाई २–१ गोलले पराजित गरेको छ । कैलालीका लागि मनकुमारी चौधरीले ३५ र ७९ औं मिनेटमा गोल गरेकी थिइन् भने उदयपुरका लागि सृजना चेम्जोङ्गले ६३ औं मिनेटमा सान्त्वना गोल गरेकी थिइन् ।

दोश्रो खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले सप्तरी महिला फुटबल टिमलाई १०–० गोलले पराजित गरेको छ । ताप्लेजुङ्गका लागि गिता रानाले १५ औं, ४१ औं र ५५ औं मिनेटमा ३ गोल गर्दा अनिता बस्नेतले पनि ३, जंगा राईले १, बिमला गुरुङ्गले १, रेखा लिम्बुले १ र अनुष्का शेर्पाले १ गोल गरेका थिए ।

तेश्रो खेलमा सिन्धुपाल्चोक महिला फुटबल टिमले सिन्धुली महिला फुटबल टिमलाई ५–० गोलले पराजित गरेको छ । सिन्धुपाल्चोकका लागि सुस्मा तामाङ्गले २५ औं, ५४ औं र ८२ औं मिनेटमा ह्याट्रिक गर्दा रुबिना पहाडी र रजनी श्रेष्ठले समान १–१ गोल गरे ।

त्यस्तै आजै स्याङ्गजामा भएको पहिलो खेलमा नवलपरासी महिला फुटबल टिमले ईलाम महिला फुटबल टिम लाई १–० गोलले पराजित गरेको छ । नवलपरासीका लागि एकमात्र गोल हिना रानाले गरिन् ।

दोश्रो खेलमा मोरङ्ग महिला फुटबल टिमले धनुषा महिला फुटबल टिमलाई २१–० गोलको भारी अन्तरले पराजित गरेको छ । मोरङ्गका लागि सुरु लिम्बूले ४ औं, ७ औं, १३ औं, २३ औं, ४७ औं, ५६ औं, ५९ औं, ६३ औं, ६९ औं, ७० औं ,७८ औं र ८० औं मिनेटमा गरेर १२ गोल गरिन् । त्यस्तै मनमाया लिम्बूले ३, रेश्मा राईले ४ तथा मञ्जु दोङ्गले २ गोल गरे ।

तेश्रो खेलमा बारा महिला फुटबल टिमले बर्दिया महिला फुटबल टिमलाई ३–० गोलले पराजित गरेको छ । बाराका लागि निशा गुरुङ्ग, सबिता राना मगर र रिशुनी रुम्बाले १–१ गोल गरे ।

shares