Breaking News

निगमले सही ढंगले काम नगरे मन्त्रालयले हस्तक्षेप गर्छ: मन्त्री अधिकारी

काठमाण्डौ, ३० कार्तिक ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमले सही ढंगले काम नगरे मन्त्रालयले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

आर्थिक संकट परेको भन्दै निगमले सरकारसँग २० अर्ब रुपैयाँ मागेको भोलिपल्ट हिमालय टेलिभिजनसँग कुरा गर्दै मन्त्री अधिकारीले अहिले निगम सुधारका लागि प्रयास भइरहेको तर सुधार नभए गम्भीर रूपमा अघि बढ्ने बताए ।

निगमले २० अर्ब मागे पनि त्यो आवश्यक छैन भन्दै मन्त्री अधिकारीले केही अर्ब रकम शेयरका रूपमा जुटाइदिन सकिने प्रष्ट पारे ।

दुईवटा वाईड बडी विमान खरिदमा अनियमितता भएको भन्ने विषयमा छानबिन भइरहेको र केही समयमै प्रतिवेदन सार्वजनिक हुने मन्त्री अधिकारीले जानकारी दिए ।

वाईड बडी विमान निजी क्षेत्रलाई भाडामा दिने कुरा हल्ला मात्रै भएको भन्दै मन्त्री अधिकारीले बरु उडानको समय बढाएर आम्दानी गर्ने दाबी गरे ।

निगमको दीर्घकालीन कर्जा ३७ अर्ब ५८ करोड र वार्षिक ब्याज ३ अर्ब ३० करोड रहेको अवस्थामा मन्त्री अधिकारीले सर्वसाधारणलाई शेयर बिक्री गर्ने योजना रहेको पनि बताए ।

shares