Breaking News

संरक्षित वन्यजन्तुको दाह्रासहित पक्राउ

काठमाण्डौ, ३० कार्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सात थान वन्यजन्तुको दाह्रासहित ६ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नारायणटारबाट वन्यजन्तुको दाह्रासहित दोलखाका नुर्बु शेर्पा, मकवानपुरका देवलाल मोक्तान, दीपक लामा, गोकुल घले, सिन्धुपाल्चोकका रवि लामा र नुवाकोटका सुब्बा तामाङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) खरीदबिक्री गर्न ओसारपसार गरिरहेको अवस्थामा उनीहरूलार्ई नियन्त्रणमा लिइएको जानकारी दिए ।

ब्यूरोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराध भएकाले पक्राउ परेका सबैलाई कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाण्डौमा पठाइएको जनाएको छ ।

shares