Breaking News

नेविसंघद्वारा दुई घण्टा चक्का जाम

खगप्रसाद चापागाई/कपिलवस्तु, २८ कार्तिक ।

काभ्रेमा प्रहरी नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता कृष्ण ढकालको निशर्त रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले दुई घण्टा चक्का जाम गरेको छ ।

प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेको तपेश्वर उच्च माध्यामिक विद्यालयका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई निशर्त रिहाईको माग गर्दै नेविसंघ कपिलवस्तुले जिल्ला प्रशासन कार्यालयअघि दुई घण्टा चक्काजाम गरेको हो ।

पाँच दिनसम्म प्रहरी नियन्त्रणमा रहेका ढकाललाई निशर्त रिहाई गर्नुपर्ने मागसहित आफूहरूले देशैभर चक्का जामको आयोजना गरेको नेविसंघ सह-महामन्त्री प्रकाश घिमिरेले बताए । आफ्ना माग पूरा नगरिए नेविसंघ कडा आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।

यसअघि ढकाललाई रिहा गर्न माग गर्दै नेविसंघले कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको थियो ।

shares