Breaking News

श्रीलंकाली संसदद्वारा प्रधानमन्त्री राजपाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित

काठमाण्डौ, २८ कार्तिक ।

श्रीलंकाको संसदले आज नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।

सभामुख कारु जय सुरियाले २ सय २५ सदस्यीय संसदमा अधिकांश सांसदले राजपाक्षविरुद्ध अविश्वासको प्रस्तावमा समर्थन गरेको घोषणा गरेका छन् ।

राजपाक्षेको पक्षमा संसदमा बहुमत हुने नदेखेपछि राष्ट्रपति सिरिसेनाको संसद विघटन गरेर निर्वाचनमा जाने घोषणाविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेकै भोलिपल्ट संसदमा राजपाक्षेविरुद्ध मतदान भएको हो ।

राजपाक्षका समर्थकहरूले संसदमा मतदान बिथोल्न खोजे पनि सभामुखले पेलेरै मतदान प्रक्रिया सुरु गरेपछि राजपाक्ष र उनका सांसद छोरा नमल राजपाक्ष संसदबाट बाहिरिएका थिए ।

राजपाक्षविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपनि राष्ट्रपति सिरिसेनासँग अर्को प्रधानमन्त्री नियुक्त गर्ने अधिकार भने रहेको बताइएको छ ।

गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रणिल बिक्रमासिंघेलाई बर्खास्त गरी महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा राजनीतिक संकट चुलिएको हो ।

shares