Breaking News

आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा श्रेष्ठ र कटुवालको विजयी सुरुवात

काठमाण्डौ, २७ कार्तिक ।

पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज भएको उद्घाटन खेलमा विकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१ – १० र २१ – १२ ले तथा विष्णुले सुर्खेतका रोहित मल्ललाई २१ – १० र २१ – ६ ले पराजित गरे ।

यस्तै, एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजनकृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकलतर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्ट विजयी भए ।

प्रतियोगितामा पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा ८ जोडी, पुरुष यु–१७ मा २८, महिला यु–१७ मा १२ र भेट्रान्स तर्फ १५ जोडीले भाग लिएका छन् ।

shares