Breaking News

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी भए

काठमाण्डौ, २१ कार्तिक  ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

चिकित्सकहरुको परामर्शमै प्रधानमन्त्री ओली महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तिको अवसर पारेर बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सार्वजनिक भएका प्रधानमन्त्री ओलीले सदाझैं व्यंग्य मिश्रित भावसहित भाषण गर्न पनि भ्याए ।

उनले भाषणको सुरुवातमै सबैलाई प्रमुख अतिथि भनेपछि हल हाँसोले गुञ्जयमान भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले महाकवि देवकोटा जस्तो विद्धान कवि विश्वमा कहीँपनि नभएको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले महाकवि देवकोटालाई बेगवान कविको रुपमा पनि चित्रण गरे । उनले अत्याधिक धु्म्रपान गरेर देवकोटाले गम्भीर भूल गरेको तथ्य पनि त्यस अवसरमा स्मरण गराए ।

कार्यक्रममा साहित्यकारहरूले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको स्मरण गर्दै कविता वाचन गरेका थिए । यसैबीच, प्रधानमन्त्री केपी ओली आफूहरूले दिएको सुझाव अनुसार नै बुधबारबाट सार्वजनिक कार्यक्रममा सहभागी उल्लेख गर्दै त्यसले कुनै असर नपार्ने वरिष्ठ चिकित्सक अरुण सायमीले बताएका छन् ।

प्रधानमन्त्री ओलीसँगै महाकवि देवकोटाको जन्मजयन्ति कार्यक्रममा पुगेका उनले कला र साहित्यमा मरिमेट्ने प्रधानमन्त्री ओलीलाई धेरै नबोल्न भने पुनः सुझाव दिए । प्रधानमन्त्री ओली छातिमा समस्या देखिएपछि तीन साता अघि महाराजगंजस्थित मनमोहन भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका थिए ।

shares