Breaking News

नेपालगञ्जकोे रानी तलाउ पार्क पुनर्निर्माण गरी संचालनमा

कृष्ण अधिकारी/नेपालगञ्ज, २० कार्तिक ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको नेपालगञ्जकोे रानी तलाउ पार्क पुनर्निर्माण गरी संचालनमा ल्याइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा जन निर्वाचित प्रतिनिधहरूको पहलमा करिब २५ लाखको लागतमा जीर्ण अवस्थामा रहेको रानी तलाउ पार्कको पुनर्निर्माण गरी संचालनमा ल्याइएको हो ।

पुन निर्माण सम्पन्न भएपछि रानी तलाउ पार्कको ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले एक समारोहका बीच शुभारम्भ गरेका हुन् । नेपालगञ्जको केन्द्रमा रहेको रानी तलाउ पार्कमा बोटिङ र बालबालिकाहरूलाई खेल्नका लागि पिङहरूको ब्यवस्था गरिएको छ ।

खुल्ला स्थान, हरियाली र पार्कहरू नहुँदा घुम्ने र रमाउने अवसर नपाएका नेपालगञ्जबासीहरू रानी तलाउ पार्क पुनः निर्माण गरी संचालनमा ल्याइएपछि लाभान्वित भएका छन् ।

१८६० मा तत्कालीन सेनाका कमान्डर कर्नेल थापाले आफ्नी श्रीमतीको संझनामा निर्माण गरेको रानी तलाउ पार्क करिब १७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

शहरी क्षेत्रलाई सफा हराभरा बनाउँदै पार्कहरू निर्माण गरी पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले रानी तलाउ पार्क पुनः निर्माण गरी संचालनमा ल्याइएको र अन्य पार्कहरू पनि संचालनमा ल्याउने तयारी भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धबल सम्शेर राणाले बताए ।

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जन प्रतिनिधिहरू आएपछि लामो समय रोकिएका विकास निर्माणका कामहरूले गति लिएको बताउँदै पर्यटकीय स्थलको रूपमा विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

रानी तलाउ पार्कको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेल
shares