Breaking News

क्रिकेटको विकास गर्न सहयोग गर्नेछुः प्रचण्ड 

पोखरा, २० कार्तिक ।

नेकपाका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा क्रिकेट खेलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

पोखरामा मंगलबार पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै प्रचण्डले खेलले देशको मान र सम्मान बढाउने भएकोले यसको विकासका लागि राज्यले विशेष चासो दिने बताए । उनले विश्वमा कतिपय देश खेलका माध्यमबाट चिनिएका बताउँदै एकअर्को देशबीचको मित्रता कायम राख्न पनि खेलको विकास हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले पोखरा प्रिमियर लिगले सुन्दर शहर पोखरामा ठूला क्रिकेटको प्रतियोगिता गर्न सकिन्छ भन्ने उदाहरण दिएको बताए । उनले पोखरामा आवश्यक भौतिक पूर्वाधारको विकास गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता गर्नुपर्नेमा राज्यको ध्यानाकर्षण गराए ।

प्रतियोगिताका विजेताहरूलाई पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा लगायतका व्यक्तिहरूले पुरस्कार प्रदान गरेका थिए । चितवन राईनोजले दिएको १ सय ६१ रनको चुनौतीलाई पोखरा पल्टनले ७ विकेटको क्षतिमा समाप्त गर्दै उपाधिसहित घरेलु दर्शकको मन जितेको थियो ।

विजेता पोखराले २७ लाख रुपैयाँसंगै पीपीएल ट्रफी र उपविजेता चितवनले १० लाख रुपैयाँ पायो । फाइनल खेलमा क्लिएर क्याचको अवार्ड अनिल कुमार शाहले जिते । त्यस्तै सुविसु फास्टेस्ट फिफ्टी र म्यान अफ दि फाइनलको दुवै अवार्ड पोखराका रवि इन्दर सिंहले पाए । पोखराका रासिद खान इमर्जिङ प्लेयरको उपाधि जित्दै ५० हजार पाए ।

प्रतियोगितामा बेस्ट बलर चितवन राइनोजका करन केसी र बेस्ट ब्याट्सम्यान काठमाडौं रोयल्सका गौरव तोमर बन्दै सुजुकी मोटरसाइकल पाए । प्लेयर अफ दि टुर्नामेण्टको उपाधि चितवनका सन्नी पटेल बन्दै सुजुकीको मोटरसाइकल जिते । त्यस्तै पोखराका ललित नारायण राजवंशी प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर बन्दै १ लाख १ हजार रुपैयाँ पाए ।

गत ९ गतेबाट सुरु भएको प्रतियोगितामा देशका ६ शहरका ६ टिम सहभागी थिए ।

shares