Breaking News

पीपीएलको उपाधि पोखरा पल्टनलाई

पोखरा, २० कार्तिक ।

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि हात पारेको छ ।

राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारस खड्काको टोलीलाई ३ विकेटले पराजित गरी शरद भेषवाकरको टोली पोखराले उपाधि जितेको हो ।

पोखराले १६१ रनको लक्ष्य १९ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । पोखराको जितमा रभिन्द्रर सिंह नायक बने । सिंहले सर्वाधिक ९० रन बनाए । कप्तान भेषवाकरले २२ रन बनाए ।

मोहम्मद नाभिद २५, आशिफ शेख १२ कुशल भुर्तेल ४ र कृष्ण कार्की शून्य रनमा आउट भए । चितवनका भुवन कार्कीले २, पारस खड्का, करण केसी र सन्नी पटेलले एक एक विकेट लिए ।

यसअघि पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १६० रन बनायो । पारसले ३७ बल खेल्दै ९ चौकाको मद्दतमा ५१ रन बनाए । पीपीएलमा उनको यो पहिलो अर्धशतक समेत हो।

दोस्रो ओभरमै चितवनले ओपनर हरिशंकर शाहलाई ८ रनमा गुमायो । तर कप्तान पारस र अर्का ओपनर अनिल शाहले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै चितवनको रन गती बढाए । अनिलले ३८ बल खेल्दै ३७ रन बनाए ।

यस्तै सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै ४३ रन बनाए । २१ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । बलिङमा पोखराका कृष्ण कार्कीले दुई तथा ललित नारायण राजवंशी र मोहम्मद नाभिदले एक–एक विकेट लिए ।

shares