Breaking News

शेयर बजारको कारोबार पूर्ण रूपमा अनलाईन प्रणालीमा

काठमाण्डौ, २० कार्तिक ।

नेपाल स्टक एक्सचेञ्जले पूर्ण रूपमा अनलाईन कारोबार प्रणाली सुरु गरेको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा एक कार्यक्रमका बीच शेयर कारोबार पूर्ण रूपमा अनलाईनबाट गर्ने प्रणालीको शुभारम्भ गरेका हुन् । नेप्सेले केही महिनाको प्रयासपछि यो प्रणालीलाई पूर्ण रूपमा प्रयोगमा ल्याएको हो । यो प्रणाली सुरु भएसँगै शेयर लगानीकर्ताहरुलाई आफू बसेकै ठाउँबाट प्रविधिको उपयोग गरेर सहज तरिकाले सेयर कारोबार गर्ने बाटो खुला भएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सो सेवाले सेयर कारोबारलाई सहज बनाउने विश्वास व्यक्त गरे । अनलाईनबाट सेयर कारोबार गर्ने प्रणालीलाई व्यवस्थित बनाउन पनि मन्त्री खतिवडाले मातहतका निकायलाई सचेत गराए । उनले शेयर बजारलाई सहज बनाएर आर्थिक गतिविधिलाई अघि बढाउन सरकारले प्रविधिको विकासका सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाईन कारोबार प्रणालीले शेयर बजारलाई सन्तुलित ढंगले अघि बढाउन सहज बनाउने विश्वास व्यक्त गरे । उनले ठूलो लगानी गरेर यो प्रविधि भित्र्याएको उल्लेख गर्दै यसको सदुपयोग गरेर अघि बढन पनि सम्बन्धित सबैलाई आग्रह गरे ।

अब शेयर लगानीकर्ताहरूले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन् । अनलाईन कारोबार प्रणाली सुरु भएसँगै शेयर बजारले गति लिने अपेक्षा गरिएको छ । अनलाईन कारोबार गर्दा लगानीकर्ताहरूले आफ्नो ‘युजर नेम’ र ‘पासवर्ड’ सुरक्षित राख्नुपर्नेतर्फ पनि नेप्सेले सचेत गराएको छ ।

shares