Breaking News

८ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट

झापा, २० कार्तिक ।

भारतसित सीमा जोडिएका झापाका विभिन्न स्थानबाट नेपाल प्रहरीले ठूलो परिमाणको पटाका बरामद गरेको छ ।

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट अवैधरूपमा भित्र्याइएको अवस्थामा नियन्त्रणमा लिएर करिब ८ लाख मूल्य बराबरको पटाका प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

भारतको बिहार र बंगाल राज्यसँग जोडिएका झापाका विभिन्न नाकाबाट नेपाल भित्र्याइएका सात लाख ९४ हजार ५४६ रुपैयाँ बराबरको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्जलगायतका नाकाबाट प्रहरीले ती पटका बरामद गरेको हो । प्रहरीले विभिन्न प्रकारका १० देखि पाँच हजार मूल्य बराबरको पटका बरामद गरेको थियो ।

नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि तस्करीको माध्यमबाट नेपाल भित्र्याएको प्रहरी उपरीक्षक ढकालले बताए । पटका भित्र्याउने तस्करहरू भागेकाले पक्राउ पर्ने नसकिएको उनको भनाइ छ ।

बरामद गरिएको पटाका नष्ट गर्दै प्रहरी (फोटो : पंकज शर्मा)
shares