Breaking News

स्तन क्यान्सरविरुद्ध जनचेतना र्‍याली सम्पन्न (फोटो फिचर)

पोखरा, १८ कार्तिक ।

नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनको अायोजनामा स्तन क्यान्सरबारे जनचेतना फैलाउने उदेश्यले पोखरामा शनिबार  बिहान पैदल यात्रा कार्यक्रम सम्पन्न गरिएको छ ।

पोखरा लेक साइडको बाराही चोकमा भेला भई सहभागीहरूले दुई किलोमिटर पैदल यात्रा गरेका थिए । क्यान्सरसम्बन्धी जनचेतना जगाउने प्ले कार्ड र ब्यानर लिएर सहभागीहरूले लेकसाइडको विभिन्न भागहरू परिक्रमा गरी पुनः बाराही चोकमा पुगेर यात्रा (फिफ्थ पिंक रिबन वाक-२०१८) सम्पन्न गरेका थिए ।

पैदल यात्रा सांस्कृतिक कार्यक्रम र कोणसभामा परिणत भएपछि चिकित्सकहरूले क्यान्सर सम्बन्धी परामर्श प्रदान गरेका थिए । स्तन क्यान्सरबाट बचौं र बचाअौं भन्ने नाराका साथ अायोजित उक्त कार्यक्रममा पोखराका स्थानीय सामाजिक संघसंस्था र स्वास्थ्य संस्थाहरूको सहयोग र अामनागरिकको उल्लेख्य सहभागिता रहेको फाउन्डेसनकी अध्यक्ष डा सुजिता हिराचनले बताइन् ।

सर्वसाधारणले स्तन क्यान्सरबारे धेरैभन्दा धेरै खुलेर कुरा गरून् र सचेत बनून् भन्ने लक्ष सो कार्यक्रमको रहेको डा हिराचनले बताइन् । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखमा हुने क्यान्सर पहिलो हो भने स्तनमा हुने क्यान्सर दोस्रो ठूलो समस्या हो । रोगको पहिचान सुरुवाती अवस्थामै गर्न सकेको खण्डमा ९० प्रतिशतभन्दा बढी स्तन क्यान्सरको उपचार गर्न सकिने बताइन्छ ।

बदलिंदो जीवनशैली, औषधि र यौनजीवनले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरुप बनाउने मात्र नभई उनीहरूको ज्यानसमेत लिने क्रम बढेपछि नेपालमा पनि क्यान्सर उपचारमा संलग्न अस्पताल र विभिन्न फाउण्डेशनहरूले स्तन क्यान्सरविरुद्ध जनचेतना अभियान चलाउँदै आएका छन् ।

shares