Breaking News

२६ बुँदे माग पूरा गराउन शिक्षक आन्दोलनमा

खग प्रसाद चापागाई/कपिलवस्तु,१६ कार्तिक ।

आफ्नो २६ बुँदे माग पूरा गर्नका लागि दबाब दिन आन्दोलनको तेस्रो चरण अन्तर्गत देशभरका नेपाल शिक्षक महासंघ आवद्ध शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलित शिक्षकले जिल्लाका सबै स्थानीय तहमा दुई घण्टा धर्ना दिएका छन् । सोही क्रममा संघको कपिलवस्तु नगरपालिकास्थित नगर समितिको आयोजनामा कपिलवस्तु नगरपालिकाको प्रवेश गेटमा दुई घण्टा धर्ना दिइएको हो ।

यसअघि शिक्षकले नगर प्रमुखलाई आफ्नो मागसहितको ज्ञापनपत्र बुझाएका थिए । अस्थाई शिक्षकलाई स्थाई गर्नु पर्ने, बालविकास सहयोगी कार्यकर्ताका लागि दरबन्दी सृजना गरी व्यवस्थापन, १० वर्ष स्थाई सेवामा रहेका शिक्षकको सामूहिक पदोन्नति र विद्यालय कर्मचारीलाई स्थाई दरबन्दीको व्यवस्था गर्नु पर्ने माग महासंघको छ ।

त्यसैगरी निजामती कर्मचारीसरह स्वास्थ्य सेवा र अन्य सुविधा दिनु पर्ने तथा निजी श्रोतका शिक्षकलाई सामुदायिक विद्यालयको सेवा सुविधा प्रदान गर्नु पर्ने लगायतका मागसहित शिक्षक आन्दोलित भएका हुन् ।

आफूहरूले हालसम्म शान्तिपुर्ण आन्दोलनमार्फत आफ्ना माग राख्दै आएकोमा माग पूरा नभए विद्यालय बन्द गरी कडा आन्दोलनमा उत्रिनुको विकल्प नभएको नेपाल शिक्षक महासंघ कपिलवस्तु नगरपालिका अध्यक्ष रामनिवास चौधरीले बताए ।

shares