Breaking News

काठमाण्डौमा साताव्यापी अग्नि विपद् सचेतना कार्यक्रम सुरु

काठमाण्डौ, १६ कार्तिक ।

काठमाडौं उपत्यकामा अग्नि विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु गरिएको छ ।

आगोबाट हुने विपद् व्यवस्थालाई सहज बनाउने उद्देश्यले काठमाडौं महानगरपालिका जुद्ध बारुण यन्त्रको आह्वानमा शुक्रबारदेखि साताव्यापी अग्नि विपद् सचेतना कार्यक्रम सुरु गरिएको हो ।

शुक्रबार बिहान बसन्तपुरस्थित जुद्ध बारण यन्त्रको कार्यालय परिसरमा कार्यक्रमको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगोबाट हुने विपद् न्यूनिकरणका लागि सहज बनाउन सचेतना कार्यक्रम सुरु गरिएको स्पष्ट पारे । उनले आगो र आगोजन्य वस्तुबाट आइपर्ने विपद् व्यवस्थापनका लागि सधैं तयार रहन सबै वडाका विपद् व्यवस्थापन समितिलाई पनि सचेत गराए ।

काठमाडौं महानगरपालिकाले तिहारमा प्रज्वलनशील पटकालगायतका वस्तुहरू पड्काउने गरेपछि त्यसलाई समेत नियन्त्रण गर्न सघाउ पुर्‍याउने उद्देश्यले हरेक वर्ष अग्नि विपद् न्यूनिकरण सचेतना कार्यक्रम तिहारको मुखैमा आयोजना गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा वर्षेनी तिहारका बेला धेरै आगलागीका घटना हुने गरेको विभिन्न तथ्यांकहरूले देखाएको छ । गत वर्षको तिहारमा पनि काठमाडौं उपत्यकाभित्र १ सय १४ वटा आगलागीको घटनामा दमकल प्रयोग गरिएको थियो । आगलागीसहितको विपद व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा विपद् व्यवस्था समिति नै गठन गरेको छ ।

shares