Breaking News

पार्टी एकीकरण लम्बिदा सरकारको काम प्रभावितः भुसाल

नरेश केसी/भैरहवा,१६ कार्तिक ।

नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले माओवादीबीच भएको पार्टी एकीकरणको काम लम्बिदा सरकारको काम प्रभावित भएको तर्क गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका भुषालले पार्टी एकीकरणमा नेताहरूको स्वार्थ जोडिंदा ढिलाइ भएको पनि बताए ।

उनले भने ‘मैले स्थायी कमिटीको बैठकमा लिखित रूपमै दिएको छु की माओवादीको अध्यक्ष भइरहेको ठाउँमा एमालेको सचिव र एमालेको अध्यक्ष भइरहेको ठाउँमा माओवादीको सचिव बनाउने । अध्यक्ष वा सचिव जनप्रतिनिधि भएको अवस्थामा क्रमशः पदीय जिम्मेवारी अनुसार अर्को व्यक्तिलाई नेतृत्व दिने । सोही अनुसार गरेको भए साउन भित्रै एकीकरण टुंगिन्थ्यो । तर यताबाट उताबाट, कमिटीमा हुदैं नभएको व्यक्तिलाई नेतृत्वमा ल्याउन थालेपछि ढिलाइ भएको हो । ’

पार्टी एकता प्रकृयालाई छिटो टुङग्याउनु पर्ने उनको जोड छ । पार्टी एकता प्रकृया लम्बिदा सरकारको काम कारबाहीनै प्रभावित बन्न पुगेको उनको तर्क थियो ।

संसदीय सम्र्पक कार्यालय रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवामा आज शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुसालले जनताको चाहाना र पार्टीको प्रतिबद्धता बमोजिम सरकारले काम गर्न नसकेको स्वीकार गरे ।

जनताको चाहाना र हाम्रो कबुल अनुसार काम हुन सकेको छैन, उनले भने— एकता प्रकृया अल्मलिएको छ, यसले पार्टी र सरकारको काममा अन्यौलता देखिएको छ ।’ पूर्वमन्त्री समेत रहेका भुषालले तल्लो तहसम्मको पार्टी एकतामा साबिकका कमिटिहरुलाई आधार बनाइनुपर्नेमा जोड दिए ।

सोही अवसरमा पत्रकारले तपाई ओली सरकारको समर्थनभन्दा बढी आलोचना गर्दै हिंड्नुभएको छ नि भनी सोधेको प्रश्नमा आफूले राम्रा कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भनेको जनाए । नेता भुसालले आफू सानैदेखि मार्क्सवादी अध्ययन र प्रशिक्षणमा रुचि राख्ने हुनाले सो कार्यलाई गुटको संज्ञा दिन नहुने पनि तर्क गरे ।

फरक प्रसंगमा नेता भुसालले पर्यटन र कृषिमार्फत रुपन्देहीको विकास गर्न सकिने पनि बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई मात्रै व्यवस्थित गरेमा रुपन्देहीका जनता समृद्ध हुने बताए । उनले भने ‘ लुम्बिनी र विमानस्थललाई सही ढंगले सन्चालन र प्रबर्द्धन गरेमा मात्रै त्यसले आर्थिक विकास ठूलो योगदान पुर्‍याउँछ । ’

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य भुसालले कृषि र पर्यटननै यस क्षेत्रको आर्थिक विकासको आधार भएको समेत तर्क गरे ।

नेता भुसालले भैरहवाको सेज संचालनमा ढिलाई हुनुका पछाडि थुप्रै कारण रहेपनि अब ढिलाइ नहुने दाबी गरे । उनले भने ‘मैले सरकारी अधिकारीलाई सेजको काम सरकारका तर्फबाट कहाँ रोकिन्छ मलाई भन्नुस् भनेको छु, काम अघि बढिरहेको छ , अब बिलम्ब हुँदैन ।’

साथै उनले सिद्धार्थ नगरपालिका र आसपासका पालिकाहरूको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साईट निर्माणको काम यसै वर्ष शुरु हुनेसमेत बताए । नेकपाका क्षेत्रीय इन्चार्ज हितराज पन्थी र नेता बाबुलाल यादवले समेत समृद्धिको आधार कृषी र पर्यटनतर्फ सबैको हातेमालो जरुरी रहेको बताएका थिए ।

shares