Breaking News

दुई वर्षभन्दा बढीको निर्वासनपछि मालदिभ्सका पूर्व राष्ट्रपति नशीद स्वदेश फिर्ता

माले, १५ कार्तिक ।

मालदिभ्सको प्रथम जननिर्वाचित राष्ट्रपति दुई वर्षभन्दा बढी निर्वासनपछि बिहीबार स्वदेश फर्केका छन् ।

लामो जेल सजाय छल्न निर्वासित जीवन बिताइरहेका पूर्व राष्ट्रपति मोहम्मद नशीद राजधानी मालेमा अोर्लंदा पार्टी सदस्य र समर्थकहरूले विमानस्थलमा स्वागत गरेका थिए । बिहीबार नै उनले अाफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतीय कार्यकालमा सन् २०१२ मा वरिष्ठ न्यायधीशलाई पक्रिन अादेश जारी गरेको भन्दै अातंकवादको पक्षपाती भएको अारोपमा सन् २०१५ मा नशीदलाई १३ वर्षको लागि जेल सजाय सुनाएको थियो ।

राष्ट्रपति यामिन अब्दुल गैयुमको प्रशासनद्वारा नशीदसहित अन्य थुप्रै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल सजाय दिलाएको विषयले अन्तर्राष्ट्रिय रूपमै अालोचना खेप्नु परेको थियो ।

जेलबाटै स्वास्थ्य उपचारको लागि भन्दै बेलायत पुगेका नशीदलाई बेलायत सराकारले अाश्रय दिएको थियो ।

सेप्टेम्बर २३ को राष्ट्रपतीय निर्वाचनमा नशीदको माल्दिभियन डेमोक्र्याटिक पार्टीका उम्मेद्वार इब्राहिम मोहम्मद सोलिहसँग यामिनको हारसँगै उनी स्वदेश फर्किएका हुन् । दशकौं लामो निरंकुश शासनपछि सन् २००८ मा नशीद मालदिभ्सको प्रथम बहुदलीय निर्वाचनमा राष्ट्रपति चुनिएका थिए ।

shares