Breaking News

साफ यु-१५ फुटबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाण्डौ, १५ कार्तिक ।

काठमाडौंमा जारी साफ यु-१५ फुटबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता नेपाल पाकिस्तानसँग ४-० गोलले पराजित भएको हो । बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई खेलको पहिलो हाफमा नेपालले गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा ४ गोल खान पुग्यो ।

पाकिस्तानले ५४औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । पाकिस्तानका खेलाडीले क्रस गरेको बललाई जान लिम्बुले क्लियर गर्न खोज्दा बलले आफ्नै पोष्टमा गोल गर्न पुगे । त्यसको ५ मिनेटमै पाकिस्तानले अग्रता दोब्बर बनायो ।

पाकिस्तानी खेलाडीलाई वान भर्सेस वानको स्थितिमा डि–बक्सभित्र लडाएपछि जान लिम्बु रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिंदा पाकिस्तानले पेनाल्टी पाएको थियो । जहाँ मोहम्मद उल्लाहले सहजै गोल गरे । २ गोलले पछि परेको अवस्थामा पाकिस्तानसँग निरिह बनेको नेपालले खेलको ६९औं मिनेटमा पेनाल्टीमार्फत् अर्को गोल खायो । यसपटक पनि पेनाल्टीमा मोहम्मदलेनै गोल गरेका थिए ।

खेलमा नेपालले पाएका केही अवसरहरू पाएपनि राम्रो मौका बनाउन सकेन । यता, एक पक्षीय खेल्ने क्रममा खेलको ७८ मिनेटमा मुदस्सर नजरले गोल गर्दै पाकिस्तानलाई ४-० को सहज जित दिलाए । यो जितसँगै पाकिस्तानले शनिबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत आजै भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको थियो । त्यही दिन तेस्रो स्थानको लागि हुने खेलमा नेपालले भारतको सामना गर्नेछ ।

shares