Breaking News

फूलमा अात्मनिर्भर बन्दै झापा, दाहाल दम्पतीले ढकमक्क फुलाए सयपत्री र मखमली

पकंज शर्मा/झापा, १५ कार्तिक ।

तिहारका बेला अत्यधिक रूपमा खपत हुने सयपत्री फूल झापामै उत्पादन हुन थालेको छ । भारतीय बजारमा निर्भर पुष्प पारखीलाई भद्रपुरमै सयपत्री फुलाई दिएपछि यस वर्ष स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको छ । युवा व्यवसायी खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा पहिलोपटक २ विगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती गरी ढकमक्क फूल फुलाएपछि पुष्प पारखीलाई स्वदेशी उत्पादनले तिहार मनाउने वातावरण तयार भएको हो ।

सांस्कृतिक पर्व तिहारमा सयपत्री फूललाई बढी महत्व दिइने हुँदा झापाका बजारमा भारतीय विषदीयुक्त फूल आयातले भरिने गर्दथ्यो । विगत वर्षहरूका भारत निर्भरतालाई घटाउन यस वर्षबाट दाहाल दम्पत्तीले सयपत्री र मखमली फूल खेती सुरु गरेका हुन् ।

तिहारमा मात्र होइन पछिल्ला वर्षहरूमा फूलको प्रयोग सभा-समारोहस्थल सजाउन, अतिथिको स्वागत सत्कारदेखि जन्म—मृत्युसम्म बढ्दै गइरहेको छ । समाजमा मन्दिरदेखि घरसम्म प्रयोग हुने सयपत्री फूल प्रयोगकर्ताले नेपाली उत्पादन पाउन कठिन रहेको झापा सदरमुकाममा दाहाल दम्पत्तीको प्रयासले यसवर्ष भने सहजै नेपाली फूल प्राप्त हुने वातावरण बनाइदिएको हो ।

तिहारमा दिदीबहिनीहरूले लगाइदिने माला होस् वा पाहुनालाई सम्मान गर्न सयपत्री फूलको माला पहिलो प्राथमिकतामा रहने गरेको छ । सामाजिक गतिविधिका हरेक क्षेत्रमा महत्वपूर्ण र माग भएको वस्तु उत्पादनमा नेपाली उद्यमीहरूले ध्यान दिन नसक्दा छिमेकी भारतमा निर्भर हुनु परेको तीतो यथार्थ जीवितै छ ।

दाहाल दम्पत्तीले भद्रपुर–७ इलुबारीमा दुई विगाहा १० कठ्ठा जग्गा वार्षिक ५० हजार भाडा तिर्ने गरी लिएर सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका हुन् । सीमावर्ती नाकाहरूबाट वर्षेनी करोडौँ मूल्य बराबरको फूल भित्रिरहेको अवस्थालाई मध्यनजर गर्दै फूलमा आत्मनिर्भरतासँगै आयआर्जनका लागि सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको उनीहरूको भनाइ छ ।

झापाको भद्रपुरसँगै अर्जुनधारा, मेचीनगर, बिर्तामोड, गौरादहलगायतका क्षेत्रमा किसानहरूले यसपाली २० विगाहाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन् । बाह्रैमास फूल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने विरुवा रोपेकोे जनाएका छन् ।

कृषक खेमराज दाहालका अनुसार फागुन चैत्रबाट लिजमा सुरु गरिएको व्यवसायमा यसवर्ष ३ लाख बढी खर्च भएको फूल खेतीबाट लगानी उठ्ने विश्वास छ । बजारमा गाउँको फूलखेतीबाट राम्रो प्रतिक्रिया आएको बताए ।

अन्य समयभन्दा तिहारमा बढी माग हुने सयपत्री फूल भारतबाट भित्रिने र फूल किन्न घुइँचो लागेको देखेर यसको खेती गर्ने सोच आएको उनको भनाइ छ ।

स्थानीय सरकारले चासो देखाएमा पुष्प खेती सफल हुने उनीहरूको विश्वास छ । फूल किन्न व्यापारीहरू बारीमै आउने गरेका छन् ।

shares