Breaking News

भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाली गायिका सरस्वती खत्रीको प्रशंसा

काठमाण्डौ, १२ कार्तिक ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली गायिका सरस्वती खत्रीको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री मोदीले नेपालको चर्चित सांगीतिक समूह ‘सुरसुधा’ की मुख्य गायिका खत्रीद्वारा स्वरबद्ध ‘वैष्णव जन ते तेने कहिए’ बोलको भजन सुनेपछि  गत सोमबार अपरान्ह ट्वीटमार्फत उनको प्रशंसा गरेका हुन् ।

विश्व शान्तिका प्रणेता महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा अक्टोबर २ तारिखका दिन राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमा गायिका खत्रीले उक्त भजन गाएकी थिइन् ।

नेपालका लागि भारतीय राजदूतावासको सहयोग र कन्सेप्टमा तयार भएको भजनमा नेपाली गायिका खत्रीले स्वर दिएकी छिन् । भजनको भिडियोको छायाँकन र सम्पादन बालकृष्ण वंशीले गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले गत सोमबार सो भजनलाई ट्वीट गर्दै भनेका छन्, ‘गान्धीजीको प्रिय भजन ‘वैष्णव जन’ सुरसुधा सांगीतिक समूह नेपालकी सरस्वती खत्रीको सुमधुर आवाजमा श्रवण गर्न पाउँदा मेरो नेपाल भ्रमणको स्मृतिहरू ताजा भएको छ । ‘पीर पराई जाने रे’ भजनले भारत र नेपालको सभ्यतामा निहीत मूल्यलाई प्रतिबिम्बित गर्दछ ।’

मोदीले गायिका खत्रीको स्वर रहेको भजनलाई आफ्नै युट्युव च्यानलमार्फत सोमबार साँझ रिलिज गरेका छन् ।

shares