Breaking News

राष्ट्रपति भण्डारी कतार प्रस्थान (फोटो फिचर)

काठमाण्डौ, १२ कार्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरे ।अस्वस्थ भई अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाइ समारोहमा सहभागी हुन सकेनन् । राष्ट्रपति भण्डारीलाई विदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।

राष्ट्रपतिको विदाइमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।

कतारमा नेपालको राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेको यो दोस्रो पटक हो । यस अघि प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि कतारको राजकीय भ्रमण गरेका थिए । झण्डै चार लाख बढी नेपालीहरू कार्यरत रहेको कतार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको सम्बन्ध र सहयोगलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रपति भण्डारीले त्यस क्रममा कतारका अमिर तमिमसँग औपचारिक भेटवार्ता गर्नेछिन् । त्यसक्रममा उनले त्यहाँ रहेका नेपाली व्यवसायी र समुदायसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धी छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत छन् ।

दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । राष्ट्रपति भण्डारी यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

shares