Breaking News

नेपाल र मलेसियाबीच श्रम सम्झौता सम्पन्न, अब नेपाली कामदार निःशुल्क रूपमा मलेसिया जान पाउने

काठमाण्डौ, १२ कार्तिक ।

नेपाल र मलेसियाबीच कामदार भर्ना, रोजगार तथा फिर्ता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौमा एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुला सेगरनले संझौतापत्रमा हस्ताक्षर गरे । यससंगै मलेसियाका लागि श्रम स्वीकृतिको बाटो खुलेको छ । अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउनेछन् ।

नेपाली कामदार रोजगारीका लागि मलेसिया जाँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, स्वास्थ्य परीक्षण शुल्क, सुरक्षा जाँच शुल्क रोजगारदाता कम्पनीले बेहोर्नेछ । अब कामदारले लेभी पनि तिर्नुपर्ने छैन । मलेसियामा काम गर्ने यसअघिको तीन वर्षे अवधि घटाएर २ वर्ष कायम गरिएको छ ।

त्यस्तै, कामदारले प्रत्येक महिनाको सात गते पारिश्रमिक पाउने व्यवस्था पनि संझौतामा तोकिएको छ । नेपाली कामदारले मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्राप्त गर्नेछन् । अहिले मलेसियामा न्युनतम पारिश्रमिक एक हजार मलेशियन रिङगिट छ ।

संझौताले महिला कामदारको सुरक्षालाई विशेष संरक्षण र रेखदेख गर्नुपर्ने व्यवस्थालाई प्राथमिकतामा दिएको छ । नेपाली कामदारका आफन्तको मृत्यु भएमा घर आउन १५ दिन बिदा पाउनेछन् । बीमाको हकमा भने मलेशियन कानूनले कामदारका लागि लागू गरेको व्यवस्था अनुरुप नै हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले संझौता ऐतिहासिक भन्दै कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरे ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले सम्झौतासँगै अब नेपाली कामदारले मलेसियाका नागरिक सरह सेवा सुविधा पाउने भन्दै नेपाली कामदारको सामाजिक सुरक्षा सुनिश्चित भएको बताए ।

संझौता पूर्ण रूपमा कार्यान्वयनमा लैजान दुवै मुलुकका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह गठन गरिएको छ । प्राविधिक समूहले सुक्ष्म अध्ययन गरी कार्यान्वयनको पाटोलाई सहज र व्यवस्थित बनाउनेछ ।

कार्यदलमा नेपालको नेतृत्व श्रम मन्त्रालयका सह–सचिव कृष्णप्रसाद ज्ञवाली र मलेसियाको नेतृत्व मानव संसाधन मन्त्रालयका सह–सचिव बेट्टी हसनले गरे । प्राविधिक समूहले आजदेखि काम थालेको छ ।

फोटो: रासस
shares