Breaking News

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा जइर बोल्सोनारो विजयी

काठमाण्डौ, १२ कार्तिक ।

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा उग्र-दक्षिणपन्थी उम्मेद्वार जइर बोल्सोनारो विजयी भएका छन् ।

लगभग सबै मतगणना भइसक्दा बोल्सोनारोले ५५ र उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडले ४५ प्रतिशत मत प्राप्त गरेका छन् ।

चुनावी अभियानका क्रममा बोल्सोनारोले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने प्रतिपद्धता ब्यक्त गरेका थिए ।

पूर्वसैनिक अधिकारी बोल्सोनारोले विगतमा सैनिक शासनताका ब्राजिल राम्रो भएको चर्चा गर्ने गरेका छन् ।बोल्सोनारोका समर्थकहरूले रियो दि जेनेरोस्थित उनको निवास अगाडि ब्राजिलको झण्डा फहराउँदै र पटाका पड्काउँदै जितको खुसियाली मनाएका छन्।

वर्तमान राष्ट्रपति मिशेल टेमेरलाई प्रतिस्थापित गर्दै बोल्सोनारोले सन् २०१९ को जनवरीमा पद तथा गोपनीयताको शपथ लिनेछन्।

आफ्नो लोकप्रियता दुई प्रतिशतमा सीमित भएको अवस्थामा टेमेर पदबाट बाहिरिँदै छन्।

पहिलो चरणमा कुनै पनि उम्मेद्वारले बहुमत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको निर्वाचन भएको थियो।
भ्रष्टाचार गरेको अभियोगमा जेल सजाय काटिरहेका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा निर्वाचनमा उठ्न अयोग्य भएपछि अडाड वर्कर्स पार्टीका प्रमुख भएका थिए।

shares