Breaking News

१३ औं सागको तयारी तीव्र

काठमाण्डौ, ११ कार्तिक ।

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको कामलाई तीव्रता दिएको छ ।

आइतबार बसेको १३ औं साग तयारी तथा व्यवस्थापन समितिको बैठकले प्रतियोगिताको कामलाई तीव्रता दिइएको जानकारी गराएको हो । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिइएको जानकारी दिए । उनले भूकम्पले संरचना भत्काएपछि तयारीको काममा केही ढिलाई हुन गएको पनि स्पष्ट पारे ।

सन् २०१९ मार्चमा आयोजना हुने सो प्रतियोगिताको तयारीका लागि प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्च स्तरीय अनुगमन तथा व्यवस्थापन समिति र युवा तथा खेलकुद मन्त्री विश्वकर्माको अध्यक्षतामा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिको बैठकले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई प्रशिक्षण दिने काम तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी सो प्रतियोगिताका सम्बन्धमा दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरूसँग आवश्यक परामर्श लिने निर्णय पनि गरिएको मन्त्री विश्वकर्माले जानकारी दिए । समितिले सो खेलकुद प्रतियोगिताको समारोहस्थल निर्माणको काममा ढिलाइ नगर्ने पनि जनाएको छ ।

प्रतियोगिताका लागि आवश्यक कार्यविधि, निर्देशिका लगायतको तयारीको कामलाई पनि अघि बढाउने निर्णय गरिएको पनि मन्त्री विश्वकर्माले बताए । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिँदै आएको छ ।

shares