Breaking News

‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम सुरु

काठमाण्डौ, ११ कार्तिक ।

नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको छ ।

शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आइतबारबाट राष्ट्रव्यापी रूपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको हो । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पारे । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा दिगो शान्ति स्थापना गर्न सो कार्यक्रम संचालन गर्नु परेको बताए । उनले चार महिनाको गहन अध्ययनपछि संचालन गरिएको सो कार्यक्रमले समाजमा दिगो शान्ति कायम गर्ने विश्वास पनि व्यक्त गरे।

केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ संचालन गरिएको सो कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम देशभरका टोल टोलमा संचालन गरिनेछ ।

मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेको हो ।

shares