Breaking News

‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक सार्वजनिक

काठमाण्डौ, ९ कार्तिक ।

सर्वोच्च नेता गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएका योगदानमा आधारित ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक प्रकाशन गरिएको छ ।

गणेशमान सिंह फाउन्डेशनले सर्वोच्च नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएका योगदानबारे भावी पुस्तालाई पनि जानकारी गराउने उद्देश्यका साथ सो पुस्तक प्रकाशन गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच काठमाडौंमा विमोचन गरिएको पुस्तकमा गणेशमान सिंहको त्यागको राजनीतिको पनि विशेष चर्चा गरिएको छ ।

इतिहासविद् डा. बद्रीनारायण गौतमद्धारा लिखित पुस्तकले राजनीतिमा बाटो बिराएकाहरूलाई सच्याउन प्रेरणा प्रदान गर्ने गणेशमान सिंह फाउन्डेशनका संरक्षक एवम् नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताए । उनले पुस्तकले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेताहरूबारे जानकारी दिने विश्वास पनि व्यक्त गरे ।

पुस्तकका लेखक डा. गौतमले पद, प्रतिष्ठा र सम्पत्तिको मोहमा राजनीति फस्दै गएका बेला सर्वोच्च नेता सिंहको त्याग र बलिदानीपूर्ण संघर्ष समेटिएको पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सिंहले पुर्‍याएका योगदान भावी पुस्तालाई जानकारी गराउन पुस्तक आफूले लेखेको पनि स्पष्ट पारे ।

जहानियाँ राणा शासनको अन्त्यदेखि २०४६ सालको जनआन्दोलनको सफल नेतृत्व गरेका सर्वोच्च नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएका नेतृत्वदायी भूमिकाको समग्र पक्षलाई पुस्तकमा समेटिएको छ ।

shares