Breaking News

पीपीएलमा पोखरा पल्टनको विजयी सुरुवात

पोखरा, ९ कार्तिक ।

आजदेखि सुरु भएको पोखरा प्रिमियर लिग पीपीएलमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ ।

पोखरा क्रिकेट मैदानमा आज सम्पन्न उद्घाटन खेलमा विराटनगर टाइटन्स्लाई ५८ रनको फराकिलो अन्तरले हराउँदै पोखराले सुखद सुरुवात गरेको हो । १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभर खेल्दै ८ विकेटकाे क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो ।

कमजोर सुरुवात गरेको विराटनगरले दोस्रो ओभरमै आफ्ना ओपनर सुनिल धमलालाई व्यक्तिगत ११ र तेस्रो ओभरमा प्रदिप ऐरीलाई १० रनमा गुमायो । पोखराको कसिलो बलिङ सामु खुलेर खेल्न नसकेको विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले सर्वाधिक समान ३०/३० रन जोडेपनि जित दिलाउन सकेनन् ।

बलिङतर्फ पोखराका ललित राजवंशीले २ विकेट लिए । यसअघि, टस हापहिले ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गर्ने क्रममा पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गरे ।

कुशल व्यक्तिगत ३८ रन बनाएर सन्दिप लामिछानेको बलमा प्रदीप ऐरीबाट क्याच आउट भएका थिए । पोखराका लागि आरिफले ५२ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, रवी इन्दर सिंहले ४४ तथा विनोद भण्डारीले नटआउट ४१ रन बनाए । विनोदले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४१ रन बनाएका थिए । विनोदले अन्तिम ओभरमा मात्र २४ रन बनाएका थिए ।

विराटनगरका लागि सन्दिपले २ विकेट हात पारे । प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा चितवन राइनोज र बुटवल टाइजर्स तथा दोस्रो खेलमा काठमाडौं रोयल्स् र धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ ।

shares